FLASH NEWS
  • Loading...

उपसभामुखले तीव्र पारिन् परामर्श

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११० पटक पढिएको
उपसभामुखले तीव्र पारिन् परामर्श

उपसभामुख शिवमाया तुम्बाहाङफेले संसदको हिउँदे अधिवेशनको पहिलो दिन सभामुखविहीन प्रतिनिधिसभा बैठकको अध्यक्षता आफैले गर्न परामर्श तीव्र पारेकी छिन्।

संघीय संसदको पाँचौं अधिवेशन ४ पुसदेखि शुरू हुँदैछ। संसद बैठक शुरू हुने दिन नजिकिएपछि संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेले परामर्श तीव्र पारेकी छन्।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा जेल चलान भएपछि प्रतिनिधिसभा सभामुखविहीन छ। त्यहीकारण पनि उपसभामुख तुम्बाहाङफेले १ पुसदेखि राजनीतिक दलका सचेतकहरूसँग भेटघाट शुरू गरेकी हुन्।

उपसभामुखले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँडसँग छुट्टाछुट्टै भेट गरेको संसद सचिवालय स्रोतले जनाएको छ।

उपसभामुखले प्रतिनिधिसभाको बैठकको सञ्चालन प्रक्रियामा  केन्द्रित रहेर छलफललाई निरन्तरता दिएकी हुन्।  भेटघाटमा सचेतक तथा राजनीतिक दलका नेताहरूले सम्बन्धित पार्टीसँग छलफल गरेर मात्र बैठक सञ्चालन प्रक्रियाको टुंगोमा पुग्ने जानकारी गराएका छन्।

हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको ४ पुसको पहिलो दिनको बैठकको अध्यक्षता आफूले गर्ने विषयमा राजनीतिक दलहरूको सहमति जुटाउने प्रयासमा उपसभामुख रहेको बताइएको छ।

“सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्ने संवैधानिक व्यवस्थालाई टेकेर उपसभामुखले बैठकको ‘चेयर’ गर्न परामर्श गरिरहनुभएको छ”, उपसभामुखनिकट स्रोतले भन्यो।

संसद नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन्। नेपालको संविधानको धारा ९१ को उपधारा ४ मा सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यवस्था गरिएको छ।

सभामुख र उपसभामुखबारेको संविधानको व्यवस्थालाई प्रतिनिधिसभा नियमावलीले संकुचित पारेको उपसभामुख तुम्बाहाङ्फेले बताउँदै आएकी छन्।  “राष्ट्रियसभा नियमावलीमा भएको बैठकको अध्यक्षतासम्बन्धी यस्तै प्रावधानलाई संशोधन गरिएको नजिर हामीमाझ छँदैछ”, उनले भनिन्।

३० फागुन २०७५ मा राष्ट्रियसभा नियमावली २०७५ मा पहिलो संशोधन गरेर यस्तो अन्योल हटाइएको छ। राष्ट्रियसभा नियमावलीको दफा ६ को उपदफा ४ मा उल्लेख भएको ‘अध्यक्षले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्ने’ व्यवस्थालाई संशोधन गरेर ‘तर, अध्यक्षले उपाध्यक्षलाई लिखित निर्देशन दिएमा वा अध्यक्ष काबूबाहिरको परिस्थितिमा परी बैठकमा उपस्थित हुन नसकेमा उपाध्यक्षले बैठकको प्रारम्भ र स्थगन वा अध्यक्षले प्रारम्भ गरेको बैठक स्थगनको घोषणा गर्ने’ व्यवस्था थप गरिएको छ।

हिउँदे अधिवेशनको तयारीबारे छलफल गर्न उपसभामुख तुम्बाहाङफेले ४ पुसमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको संसद सचिवालयका सञ्चारविज्ञ शेखर अधिकारीले बताए। “समयको टुंगो भएको छैन। तर, हिउँदे अधिवेशनको कार्यसूची र प्रक्रियालगायतको विषयमा छलफल गर्न ४ पुसमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ”, अधिकारीले भने।

२३ मंसीरमा बसेको मन्त्रिपरिषद्को बैठकले संसदको पाँचौं अधिवेशन ४ पुसमा आह्वान गर्न सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन आह्वान गरेपछि बैठकको व्यवस्थापकीय गृहकार्यमा संसद सचिवालय जुटेको छ। संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए।

प्रतिनिधिसभाको अब बस्ने बैठकले नयाँ सभामुख चयन प्रक्रिया अघि बढाउँदैछ। संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा फरक-फरक दल र  फरक-फरक लिङ्गको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ। संसदको सबभन्दा ठूलो दल नेकपाबाटै तुम्बाहाङफे उपसभामुखमा निर्वाचित भएकी हुन्। उनी उपसभामुख पदमा रहिरहेसम्म नेकपाले सभामुख पाउँदैन। त्यसैले सभामुख पद आफैंसँग राख्न नेकपासँग शिवमायालाई नै सभामुखको उम्मेद्वार बनाउने वा उनलाई उपसभामुखबाट राजीनामा गराउने दुई विकल्प छन्।

देखापढीमा समाचार छ ।