FLASH NEWS
  • Loading...

बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि चार लाख जरिवाना

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५१ पटक पढिएको
बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि चार लाख जरिवाना

बेहुलीलाई सिन्दुर हाल्ने बेलामा बेहुलाको हात नचलेपछि बेहुली पक्षले विवाह अस्वीकार गरेको प्रहरीले जनाएको छ ।  

विवाह मण्डपमा बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चारलाख रूपैयाँ जरिवाना तिरेका छन् ।

२९ मङ्सिर दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको विवाह हुँदै थियो ।

बेहुलीलाई सिन्दुर हाल्ने बेलामा बेहुलाको हात नचलेपछि बेहुली पक्षले विवाह अस्वीकार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार विवाह मण्डपमै खैलाबैला मच्चिएर बेहुला पक्षले जन्ती लगेको गाडी नै तोडफोड गर्न खोजेपछि विवाह घरमै पुगेर प्रहरीले सुरक्षा दिएको थियो ।

बेहुला पक्षले बेहुली पक्षलाई झुक्याएर विवाह गर्न खोजेको भन्दै विवाद उत्पन्न भएको थियो । बेहुलाको हात नचलेपछि उनी शारीरिक अपाङ्गता भएको व्यक्ति रहेको भन्दै बेहुली पक्षले बेहुलालाई चार लाख जरिवाना लिएका छन् । जसका लागि बुद्धशान्ति गाउँपालिकाकी उपप्रमुख मीर भुर्तेलसहितको टोलीले विवाद समाधानका लागि पहल गरेको प्रहरीले जनाएको छ ।

बेहुलाले आफू डाक्टर भएको भन्दै बेलुही पक्षलाई विवाहका लागि प्रस्ताव राखेको र उनी डाक्टर नभइ निजी अस्पतालमा कार्यरत कर्मचारी रहेको बेहुली पक्षको आरोप छ । बेहुली पक्षले विवाहका लागि गरिएको खर्चको माग दाबी गर्दै बेहुला पक्षसँग चार लाख रकम लिएको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताए।

विवाहको कुरा छिनेपछि बेहुला र बेहुली दुवैपक्षले सहमतिमै टीकाटाला नगरी एकै पटक विवाहका लागि राजी भएको बताइएको छ ।

यसअघि पनि बुद्धशान्ति गाउँपालिकामा एक व्यक्तिको विवाह हुँदा यस्तै घटना घटेको थियो । विवाहलगत्तै बेहुलीलाई छाडेर बेहुला भाग्दा बेहुलीको परिवारलाई ३५ लाख रूपैयाँ क्षतिपूर्ति दिलाइएको थियो। रासस