FLASH NEWS
  • Loading...

झ्याई पार्‍यो रत्यौलीको झिल्केले झ्याई पार्‍यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५४ पटक पढिएको
झ्याई पार्‍यो रत्यौलीको झिल्केले झ्याई पार्‍यो

मंसिर विवाहका महिनाको २१ गते । लगनको दिन । धेरै जोडिको आज लगनगाँठो बाँधिएको छ, सुहागरातको प्रतिक्षामा छन । मंसिरमा यस अघि ६ वट लगनमा पनि हजारौं जोडी विवाह बन्धनमा बाँधिए, कतिले उही रात सुहागरात मनाए, कतिलाई लोकन्ती बाधक भए होलान । अव मंसिर २५ गते मात्र लगन छ । त्यैपनि मन मिले लगन सवै वार, गते र महिनामा निक्लन्छन, आजभोली ।

हिन्दु शास्त्रीय विवाह भन्ने वित्तिकै दुलाह जन्ती लिएर दुलहीको घरमा जान्छन । दुलहीको घरमा जन्ती र माईती पक्षका ठिटाठिटी पञ्चेबाजामा कम्मर मकाई मर्काई नाच्छन । यता दुलाह पुरुष जन्ती लिएर दुलही लिन गएपछि दुलाहको घरमा महिला जम्मा भै नाचगान गर्दै रमाईलो गर्छन, यसैलाई रत्यौली भनिन्छ । आज धेरै विवाहका दुलाहको घरमा लुठू (लाहुरे) ले नाचेर दिनभर हँसाउने र रत्यौलीको रन्कोले महिलालाई नचायो ।

वास्तवमा रत्यौली महिलाहरुको जीवन कहानी हो । रत्यौलीमा विवाहबाट सुरु भएको महिला जीवनमा आईलाग्ने हरेक ब्यवहारिक जिम्मेवारी, भुमिका र बाध्यताहरुका कथालाई महिलाहरुले रत्यौलीमा गीति कथा बनाई गाउँछन ।

विवाहको दिन बेहुलाको घरमा महिलाहरु गीत गाउँदै कम्मर मकाई–मर्कार्ई नाच्छन । बेहुलाको घरमा महिलाहरु रोमान्टीक गीत गाउँदै यौनोत्तेजक हाउभाउ र शैलीमा नाच्ने संस्कार नै रत्यौली हो । जन्ति बेहुली लिन घरबाट साईत गरेपछि महिलाहरु दुलाहको घरमा विहेको प्रकृया अनुसारका भावमा नाच र गीत गाउने गर्छन ।

बुहारी लिन गए छोरा र जन्ती, नाच आमा आगनमा फनफन्ती ।’ रत्यौलीमा महिलाहरु पुरुष भेष धारण गरी पनि नाच्ने गर्छन । पुरुष भएका महिलालाई लुठो वा लाहुरे भन्ने गरिन्छ । उत्ताउलो हाउभाउमा लाहुरेले दुलाहका आमा, दिदी बहिनीलाई खोज्दै नचाउँदै, सुहागरातमा छोराबुहारीको कृत्यको अभिनय गर्दछन ।

रत्यौलीका महिला गीतमा नै भन्छन्, ‘ले लाहुरे ले ले दुलाहकी आमालाई खोजी खोजी ले ।’ दुलाह सहित जन्ती बेहुलीको घर पुगेपछिको रत्यौलीमा छुट्टै हाउभाउ गरिन्छ । बेहुलीका बहिनी भिनाजुसँग जिस्किएको भावमा भन्छन, ‘म कति राम्री छु, दुरवीनले हेर भिनाजु ।’ त्यही बेला लाहुरेले पुरुष जननेन्द्रीयलाई दुरविन बनाई दिँदा महोत्सवमा उपस्थित महिला–पुरुष सवै लाजले भुतुक्क भए ।

‘ल्याएका दुलही राम्ररी पाले, जन्मदिने बा–आमा नफाले ।’ महिलाहरुले विवाहपछि छोरा–बुहारीले आमाबालाई बृद्धश्रममा पठाउने कुसंस्कारको पनि महिलाले रत्यौली मार्फत विरोध गरे । प्रतियोगितामा पुरुष भन्दा महिला बढी थिए । महिलाहरु छोरोले बुहारी ल्याएपछि गर्ने सुहागरात, यौनजीवन र सासुबुहारी, नन्दभाउजु, देवरजेठानी आदी पारिवारिक सम्बन्धमा आउने परिवर्तनहरु गीत मै गाए ।

परम्परागत रत्यौलीको सवैभन्दा रोमान्चक पात्र भने लुठो हो । लुठोले (पुरुषको भेषमा नक्कली पुरुष जननेन्द्रीयमा सजिएकी महिला)ले कामोत्तेजक हाउभाउ र शैलीमा दुलाहका आमा, दिदीबहिनी, भाउजु समेत महिलाहरुलाई ‘च्याप्प समाउँदै यौन सम्पर्कको अविनय गर्छन । पुरुष प्रतिवन्धीत गीतनाच हुनेभएकोले महिलाहरु उन्मुक्त भै नाचेर मनोरञ्जन गर्छन ।

पुरुषले रत्यौली हेर्न हुँदैन भन्ने मान्यता छ, त्यैपनि कामवासनाले युक्त पुरुष महिलाको रत्यौली हेर्न लुकिछिमी पुग्छन ।

रत्यौलीमा जन्ति लिएर दुलहीको घर गएपछि सवै रमाउँछन । यहीबाट रत्यौलीको कथा सुरु हुन्छ । दिदीवहिनी, छिमेकी नयाँ सदस्य भित्रन लागेकोमा खुसी मनाउँछन । त्यसपछि दुलाहको आमाको कथा सुरु हुन्छ, छोराले ‘दुधको भारा’ तिरेर डोलीमा चढ्दा आमाको मनमा आउने भावबाट खास रत्यौलीका गीत सुरु हुन्छ ।

त्यसैपछि दुलाह र दुलहीको यौन जीवनको कथा गाईन्छ, यही लुठोले विवाहपछि दुलाहदुलहीको ब्यक्तिगत निजी ब्यवहारको अभिनय गर्छन । त्यसपछि गीति भाका मै दुलहीलाई घरमा स्वागत गरिन्छ । दुलही भित्राएपछि आमाले रत्यौलीको गीतमै घरको साँचो (जिम्मेवारी) वुहारीको हातमा सुम्पिन्छिन । सासुबुहारीको उमेर र युग अनुकुलनका विषयका विवाद र घर त्याग आदी सामाजिक विषय वस्तु रत्यौलीमा गाईन्छ । तर आजभोली रत्यौली पनि विकृत छ, मोवाईलको उरेन्ठ्यउला गितमा मस्त छ ।