FLASH NEWS
  • Loading...

कालीगण्डकी करिडोर विधुत लाईनले घरवास उठ्दै

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३५ पटक पढिएको
कालीगण्डकी करिडोर विधुत लाईनले घरवास उठ्दै

वस्तीमा कालीगण्डकी करिडोर २२०/१३२/३३/११ केभिए हाईटेन्सन लाईनको टावर परेपछि अन्नपूर्ण गाउँपालिका, ६ धिरच्याङ, रातोपानी र पोखरेवगरबासीको घरवास उठाउने भएको छ ।

कालीगण्डकी करिडोरमा निर्माणाधिन २२० केभिए अर्न्तर देशिय विधुत हाईटेन्सन लाईनको ६ वटा टावर धिरच्याङ्ग, रातोपानी र पोखरेवगरको वस्तीमा परेपछि स्थानीयले टावर निर्माणमा अवरोध गर्दै आएका छन । प्रस्तावित स्थानमै हाईटेन्सन लाईनको टावर वनाउँदा घनबहादुर बरुवालको घरवास उठाउनु पर्ने हुन्छ ।

‘पुर्खादेखी वस्तै आएको थलो र घरवास उठाएर लाद्न खोजिको विकास मानव अधिकारको गम्भीर उल्लङ्गन हो । मुअब्जा दिएर मान्छेलाई जर्वजस्ती थातथलो छोड्न बाध्य पारिए त्यस्तो विकास प्रकृया रोक्न अदालत जान्छौं’ पीडित घनबहादुर बरुवालले भने, ‘विधुत ऐन र वातावरण ऐनले विधुतको हाईटेन्सन मुनी वस्ती बनाउन दिन्न, यहाँ त जर्वजस्ती वस्तीमाथी हाईटेन्सन राखिदैछ ।’

उच्च भोल्टेजका प्रसारण तथा वितरण लाईनमुनी जग्गा गैरकानुनी मात्र होईन अकालको मृत्यु बन्छ । हाईटेन्सन मुनी वस्ती वस्न, खेती गर्न र रुख विरुवा रोप्न वर्जित भएपनि कालीगण्डकी करिडोरको अन्धगल्छी क्षेत्रका वस्तीमाथी नै हाईटेन्सन बन्दै छन ।

प्रसारण लाईनको मुनी सुरक्षाको दृष्टिले ज्यादै जोखिम हुन्छ । विधुत नियमावली, २०५० ले तारदेखी घर वा रुखसम्मको दुरी २२० केभिएसम्मका भोल्टेजसम्म करिव २ मिटर कायम गरेको छ । तर कालीगण्डकी करिडोरमा प्राधिकरणले स्थानियवासीको चर्को विरोध हुँदाहुँदै प्रशासन प्रयोग गर्ने धम्की दिँदै आएको छ ।

‘पोखरेवगर पुरानो वस्ती मात्र होईन, अन्नपूर्ण गाउँपालिकाको केन्द्र पनि हो । उदाउँदा सहरी वस्ती पनि हो । वस्ती छोड्न सकिँदैन’ सिडिओ कार्यालयमा आयोजित पीडित र आयोजना वीचको छलफल कार्यक्रममा अर्का पीडित सन्तोष बरुवालले भने, ‘प्रलोभनमा सिडियो सरलाई मानवअधिकार कुल्चेर जनताको घरवास उठाउन बन्दुक तेर्साउन सजिलो हुने छैन । आयोजना सच्याउन सकिन्छ, मान्छेको स्वाभिमान किन्न सकिन्न ।’

सडक र विजुली प्रसारण लाईनको असर अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे वगरलाई परेको छ । गापा केन्द्र कायमभएसँगै तिब्र बजारकिरण भैरहेको पोखरेवगरमा सरकारी कार्यालय राख्न र वस्ती वसाउन समस्या भएको छ ।

‘हामी जनताका सेवक हौं । राज्यका ऐनकानुन पनि कार्यान्वयन गर्ने दायित्व हामीसँग छ । आयोजना सम्पन्न गर्ने दायीत्व पनि हामी सवैको हो । आयोजनाको एलाईमेन्ट परिवर्तन गर्न नसकिने नै हो भने स्थानीयले नै लचिलो भैदिनु पर्‍यो’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘आयोजनाले नर्म्सको मात्र कुरा नगरी परिस्थिती र आवश्यकताको शिद्धान्त अपनाउनु पर्यो ।’

संसारको सर्वाधिक गहिरो र साँघुरो यो अन्धगल्छीमा निर्माणाधिन र प्रकृयाका दर्जन आयोजनाको विजुली  केन्द्रीय ग्रीडमा जोड्न कालीगण्डकी करिडोर २२० केभिए प्रसारण लाईन निर्माण भैरहेको छ । यी आयोजनाबाट उत्पादित विधुत दाना सवस्टेसनमा जोड्न साँघुरो गल्छीमा अवस्थित वस्ती माथी छुट्टाछुट्टै हाईटेन्सन लाईन बनाउनु पर्छ ।

कालीगण्डकीले बनाएका अधिकतम दुई सय मिटर फराकिला बगरमा अवस्थित तिप्ल्याङ, महभीर, धिरच्याङ, ठूलोवगर, रातोपानी, पोखरेवगर, तातोपानी, नारच्याङ, दाना, गाडपार बस्तीमाथी उच्च भोल्टेज विधुत प्रसारण लाईन निर्माण भैरहेको छ ।

‘हाईटेन्सन लाईन सकेसम्म वस्ती छलेर वल्लो डाँडादेखी पल्लो डाँडासम्म तार टाँगेका छौं । तलका वस्तीलाई जोखिम छैन । विवादित स्थानबाट टावर अन्यत्र सार्न सक्दैनौं’ सिडिओ कार्यालयमा विहिवार प्रभावितहरुसंग आयोजना प्रमुख चन्दन घोषले भने, ‘साँघुरो गल्छी भएकोले वस्ती र सडक भन्दा धेरै टाढा पुग्न सकिने अवस्था छैन । बाध्य छौं । मुअब्जामा हदै लचिलो छौं ।’

आकाशमा उच्च भोल्टेजको प्रसारण लाईनको र जमिनमा फराकिलो ‘राईट अफ वे’ सहितको सडक निर्माणले कालीगण्डकी किनाराका बस्ती प्रभावित बनेका छन । दैलो छेउमा सिंहदरवार आएपछि खोलाको बगरमा पनि बस्ती बढ्ला, ब्यापार होला भन्ने विस्वास गरेका पोखरेवासी विधुत हाईटेन्सनले वस्ती उठाउन खोज्दा पिरोलिएका छन । विधुतले मात्र होईन, आधा जमिन सडकले काटेपछि पुरै बस्ती संकटमा परेको हो ।

‘जमिन तल कालीगण्डकी कटान, अनि सडकले ओगट्ने र आकासमा विजुलीको तारले ओगट्दा वस्ती विकास गर्न समस्या भएको छ’ अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले भने, ‘साँघुरो ठाउँमा सडक, विजुली र भोली अरु आयोजना पनि थपिदा यी वस्तीको अवस्था के होला आजै विचार पुर्‍याउनु पर्छ ।’