FLASH NEWS
  • Loading...

अस्पतालबाट प्रधानमन्त्रीको सन्देश– ‘इन्फेक्सन फैलिएकाले मेजर अप्रेशन गर्नुपर्‍यो, अब ठीक हुँदैछु’

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail


प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अचानक आइलागेको स्वास्थ्य समस्या ‘एपेन्डिसाइटिस’का कारण जटिल शल्यक्रिया गर्नुपरेको र अब आफू ठिक हुँदै गएको बताएका छन् ।
आज अस्पतालबाटै जारी गरेको भिडिओ सन्देशमार्फत् प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे जानकारी गराएका हुन् ।
“एपेन्डिसाइटिस भनेको अचानक हुँदोरहेछ, मलाई पनि अप्रत्यासित रुपमा आइलाग्यो, त्यसमा इन्फेक्सन भएछ र बाहिरसम्म फैलिएछ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “इन्फेक्सन त्यसमा मात्रै भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो, बाहिरसम्मै इन्फेक्सन भएकाले त्यसलाई हटाउन मेजर अप्रेशन गर्नुपर्यो । त्यसकारण उपचारमा हप्ता, दश दिन लाग्ने नै भयो ।”
अहिले आफ्नो स्वास्थ्यमा धेरै सुधार भइसकेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् । “तपाईंहरु देखिरहनुभएको छ, एउटा मेजर अप्रेशनपछि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अबस्थामा छु । समाचारहरु हेर्न सक्ने अवस्थामा छु । हिंजो मैले १३औं सागको उद्घाटन समारोह पनि पूरै हेरें ।”
हुन्छ कि हुँदैन भन्ने अन्योलबीच १३ औं दक्षिण एशियाली खेलकुदको भव्य उद्घाटन भएकोमा प्रधानमन्त्री ओलीले खुसी व्यक्त गरेका छन् । “म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनभएकोमा, अरु सबैलाई सहभागी हुनुभएकोमा धन्यवाद भन्न चाहन्छु”, प्रधानमन्त्रीले भने, “अब खेलबाट देशको शान बढाउन र क्षेत्रीय मित्रतालाई अघि बढाउन म नेपाली खेलाडी र सार्क क्षेत्रका खेलाडीहरु सबैलाई आग्रह गर्दछु ।”