FLASH NEWS
  • Loading...

घर रंगाउन चटारो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २४७ पटक पढिएको
घर रंगाउन चटारो

म्याग्दी, १६ असोज ।
दशैं संघार छ । ग्रामिण भेगमा गृहणीहरुलाई रातो र कमेरोले पोतेर घर चिटिक्क पार्न हतारो सुरु भएको छ ।
दशैंमा घर रंगाउने प्रचलन पुरानो हो । गाउँका सवै घर कम्तीमा दशैंमा एक पटक रातो, कमेरो र पहेंलो माटोले पोतेर रंगाईन्छ । सहरी क्षेत्रका घर रङ्गाउन, विभिन्न ब्राण्डका रंगहरु, गेरु, चुना र ईनामेलको प्रयोग हुने भएपनि गाउँघरका घर रंग्याउन भने रातोमाटो, पहेंलो र कमेरो माटोकै प्रयोग हुन्छ । गाउँका धेरै घरहरु रातो र सेतो माटोले पोतेर घर रंग्याइन्छ ।

तर पछिल्ला बर्ष ग्रामिण भेगका घर रङ्गाउन पनि रातो गेरु रङ्ग प्रयोग हुन थालेको छ । गाउँगाउँमा मोटर पुगेपछि ब्यापारीले ट्याक्टरमा राखेर माटो गाउँ वस्ती पुर्‍याउन थालेपछि मडकिन्लो र गृहणीको सम्बन्ध टुट्न थालेको छ ।त्यसैगरी घर रङ्गाउन बढ्ने गेरु रङ्गको प्रयोग, सामुदायीक वन विकासले माटो खन्न रोक लगाउनु र माटो खन्दा मडकिन्लोमा पुरिने दुर्घटना बढेपछि बेनी नगरपालिका, १ रत्नेचौरमा माटो खन्ने मेला पातलो बन्दै गएको छ ।

श्राद्धमा घर च्योख्याउनु पर्ने र दशैंमा घर रंगाउन रातोमाटो लिन यहाँ आएकी हुँ जलजला गाउपालिका, २ धाईरिङ्गकी सरस्वती आचार्यले भनिन्, ‘गाउँलेले पहिरो लाग्छ भन्दै पाखोमा माटो खन्न पनि दिन्नन । ब्यक्तिको बारीमा माटो खनेको भारीको एक सय शुल्क तिर्नु पर्छ ।
सातामा बुधवार, शुक्रवार र शनिवारका तिन दिन बाहेक अन्य बारमा घरपोत्ने माटो नखन्ने चलन छ । रत्नेचौर स्थित रातोमाटोको मडकिन्लोमा आउनेको संख्या घट्दै गएको छ ।

माटो खन्ने ठाउंलाई मडकिल्नो भन्ने गरिन्छ । रातोमाटो पोतेको घर चिटिक्क परेको राम्रो देखिएपनि माटो खन्न भने सजिलो हुंदैन् । गहिरा सुरुङ जस्ता मडकिल्ना भित्र पसेर माटो झिक्दा मड्किल्नो भत्केर मृत्यु पनि हुने गरेको छ । सामुदायीक वनले माटो खन्दा मडकिन्लोमा पुरिएर ज्यान जाने मात्र होईन पहिरोको जोखिम बढेको भन्दै सामुदायीक क्षेत्रमा रातो माटो खन्न रोक लगाएको छ ।
रत्नेचौर र वरपरका वस्तीबाट रातोमाटो लिन आफै आउँछन । मध्यमदुरीबाट माटे ब्यापारीले लैजान्छन । खड्का, कार्की र घर्ति आदी थरका क्षेत्रीहरुले कमेरा माटोले घर नपोत्ने हुंदा उनीहरुलाई रातोमाटो नभई हुन्न भन्ने मान्यता छ । माथील्लो लेकाली वस्तीमा भने रातो माटो पुर्‍याउन समस्या हुने भएकोले लेकाली वस्तीका मगर, छन्त्याल समेतका जातीले सेतो कमेरोले मात्र घर रङ्ग्याउने गर्छन ।