- Loading...
विकासले निम्त्याएको विनास, जहिल्यै पहिरोको त्रास
- पुनहिल डट कम
- ४ साल अघि
- १६४ पटक पढिएको
सडक कसरी विपत्तिको कारक हो, सदरमुकाम बेनीको कालीपुल वसपार्क, क्याम्पसचोक, मंगलाघाट वजारमा मोटरबाटोबाट बर्षेनी ल्याउने वितण्डा हेरे पुग्छ ।
बेनीका सिरानमा अवस्थित बलौटे भित्तामा डोजर लगाएर खनेका सडकबाट निक्लेको ढुङ्गामाटोलाई उचित र बैज्ञानिक ब्यवस्थापन नहुँदा भेलले बगाएर बाढीको रुपमा बेनीको मंगलाघाट, क्याम्पसचोक र हस्पिटलचोकमा पसेर दैनिक वितण्डा मच्चाईरहेको छ । सडकको माथिल्लो खेतवारी भत्काएर बाटो मुनीका हजारौं खेतियोग्य जमिन र धानसमेतका वाली पुरेको दृष्यले कृषक पुर्पुरोमा हात राखेर रोईरहेको दृष्य प्रशस्त छन ।
शुक्रवार राती ११ देखी १ बजेसम्म परेको भारीबर्षापछि कुरिलाखर्कको भित्तादेखी आँपारुखसम्मको सडकमा पहिरो झरेपछि भेलबाढीले पहिरोकाले लेदो बगाएर ल्याएपछि बेनीनगरपालिका, ७ मंगलाघाट बजारमा रहेका ग्यारेज, प्लाईउड उद्योग, दर्जनबढी घरपसलमा भेलबाढी पसेको छ । त्यस्तै कृषी, भेटनरी, वन र भु संरक्षण कार्यालयका आवास क्षेत्र पनि बाढी पसेर डुवानमा परेको छ । मंगलाघाट महारानी थान मन्दीरको डिल भत्केर खस्दा तल बेनी नगरपालिका प्रमुख हरीकुमार श्रेष्ठको गोठमा क्षति पुर्याएको छ ।
‘हामीले योजना बनाउँदा बेनी संरक्षण भनेको तल म्याग्दी र कालीगण्डकी कटान मात्र बुझ्यौं, माथी भिरपाखोबाट झर्ने बाढीपहिरो विर्सियौं । सदरमुकाम बचाउने कुरा बेनी नगरपालिकाको क्षमताभन्दा माथीको बजेट आवश्यक छ । अव संघ, प्रदेश र स्थानीय तह र समुदायका पाका मान्छेहरुबाट रैथाने ज्ञानलाई समेत बुटुलेर योजना बनाउनु आवश्यक छ’ बेनी नगरपालिकाका प्रमुख हरीकुमार श्रेष्ठले भने, ‘बाढीपहिरोको समस्या बेनीमा मात्र होईन, नगरभरी सवै वस्तीमा उस्तै छ । हिँड्दै छ, पाईला मेट्दै छ भने झै नगरको बजेट दिनदिनै पहिरो सफा गर्ने र सडक खुलाउै बढी बजेट खर्च भैरहेको छ ।’
हस्पिटलचोकबाट खैरेनी वस्ती हुँदैमाथी जामुनाखर्क पुग्ने सडकबाट निक्लेको माटोले कालीपुल वसपार्कमा, बेनी–अर्थुङे–पाखापानी र पुलाचौर जाने सडकबाट आउने भेलबाढीले क्याम्पसचोक र मंगलाघाट तथा बेनी–अग्नीखेत सडकले मंगलाघाट बजारमा बाढी पसेर समस्या मात्र होईन, पहिरो खसेर मानविय क्षतिको जोखिम बढेको छ ।
क्याम्पसचोक र हस्पिटल चोकको माथी रहेको दलित वस्ती खैरेनी, धजाधजा परेर फाट्दै बग्न थालेपछि क्याम्पसचोबाट शिक्षामार्गहुँदै वेनी अस्पताल र कालीपुल वसपार्क क्षेत्रमा विपत्तिको घन्टी वज्न थालेको छ । खैरेनीमा पहिरोको कारण केही घर विस्थापित भैसकेका छन ।
‘बेनी–अर्थुङ्गे–पाखापानी सडकको कुरिलाखर्क–आँपारुख–आर्मिब्यारेकमुनीसम्मको करिव ३ किलोमिटर सडक नै बेनीबजारमा पहिरोको मुख्य जोखिम हो । पछिल्लो एक दशकदेखी यही सडकबाट निक्लेको माटो र भेलबाढीको प्राकृतिक मार्ग परिर्वतनहुँदा बेनीमा बाढीले वितण्डा मच्चाईरहेको छ’ बेनीका सामाजिक अगुवा चन्द्रकुमार केसीले भने, ‘कुरिलाखर्क–आँपारुखसम्मको सडकको एलाईमेन्ट नै परिवर्तन जरुरी छ नत्र समस्या जहिल्यै उस्तै रहन्छ ।’
त्यस्तै महारानी थान नजिकै भिरहुँदै महारानीथान–अग्नीखेत/गोठ जोड्ने सडक भत्कन थालेपछि मंगलाघाटको माथिल्लो वस्ती उच्च जोखिममा परेको छ । बेनीका क्याम्पसचोक र मंगलाघाटमाथी अब्यवस्थित बेनी–अथुङ्गे मोटरबाटोबाट तल बाढी उर्लेर आउँछ । जव पानी पर्न थाल्छ तव रड, सिमेन्ट र कंक्रिटका घरमा बस्ने बेनीबासी रातभरी जाग्राम वस्छन । र यो एक वर्ष मात्र होईन, वर्षेनी यस्तै भैरहन्छ ।
शुक्रवार राती नै बेनीको कालीपुल वसपार्क, हस्पिटलचोकहुँदै खैरेनीवस्तीहुँदै माथी जामुनाखर्क जोड्न गत हिंउदमा खनेको सडकबाट आएको लेदोसहितको भेलबाढी पसेपछि तल बसपार्क छेउको जिल्ला ट्राफिक प्रहरी कार्यालय, म्याग्दी सूचना केन्द्र समेत कालीपुल वसपार्क डुवानमा पारेको छ । कालीपुल वसपार्क बेनी छर्ने द्धार मात्र होईन मुस्ताङ जाने मुख्य स्टेसनपनि हो ।
यी उदाहरण मात्रै हुन । सडकहरु वस्तीको चैन उडाउने ‘एम्बुस’ भएका छन । हिउँदमा आफैले लापरवार्ही खनेका टोल जोड्ने, घर जोड्न र खेत तथा गोठलाई मोटरवाटोले जोड्न खनेका सडले विपत्ति निम्त्याउन थालेपछि जनप्रतिनिधीकालागी पीडितका आँशु थाप्ने ‘कमण्डलु’ बनेका छन । बेनी नगरपालिकाका जनप्रतिनिधीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरिएको सत्तोसरापले सडकको औचित्य देखाएको छ ।
‘बाढीपहिरोले बर्खाभरी अनिदो वस्ने बेनीबासी असोज लागेपछि भने भुसुक्कै निदाउँछन, असारमा पानी पर्न थालेपछि वल्न विउँझिन्छन’ मंगलाघाटकी शान्ता पुनले भनिन, ‘छेपारोले घर बनाउने उखान जस्तै छ, बेनी संरक्षणको कुरा । जुन नेताले नि भाषण गर्छन, काम गर्दैनन । अहिलेसम्मको बजेटले माथीको भित्तो टालिन्थ्यो होला, खै त ।’
हिउँदभरी विकास र समृद्धिको आधार भनिएका सडक बर्खा (मनसुन) सुरु भएपछि विपत्तिको मुख्य कारक बन्न थालेका छन । जनधनको ठूलो क्षति हुन थालेको छ । हिउँदभरी दैलोमा गाडी गुड्ने आसामा बाँचेका गाउँले जव त्यै सडकले ल्याएको पहिरोले पुरेर घरखेत हुन्छ अनि पुर्पुरोमा हात राखेर, भगवान पुकार्ने गरेका छन । सत्तोसराप गर्ने गर्छन । सडककै कारण वस्ती उच्च जोखिममा परेको वस्ती मध्य सदरमुकाम छेउको डम्बरा एक हो ।
‘सवैलाई दैलोमा सडक चाहिएको छ । वर्खा विपत्ति आउँछ कसैले सोच्दैन । अर्कोतर्फ ठूला ठेकदारले मनलाग्दी भित्तो काट्ने, संरक्षण नगेर्नै र निक्लेको माटो जथाभावी फाल्ने गर्दा झन बढी पहिरोको जोखिम बढेको छ’ बेनी नगरपालिका, ६ कावडाध्यक्ष कृष्णबहादुर बानियाँले भने, ‘मेरो वडामा मात्र ३७ घर भत्केपछि विस्थापित छन । सयौं खेतियोग्य जमिन पुरिएको छ ।’
बाबियाचौर–अर्मन–किमचौर सडकले पहिरो चल्दा अर्मनबासी ज्यान जोगाउन घर छोडेर पर पाखोमा पाल राखेर बसेका छन । बेनी–दरवाङ सडक, बेनी–जोमसोम सडक, बेनी–बरंजा समेत जिल्लाका प्राय: सवै सडकमा पहिरोले धेरै घर भत्केका छन । खेतीयोग्य सयौं हेक्टर खेतमा पहिरो चलेको छ । डोजर अपरेटरको भरमा खनिएका सयौं ग्रामिण सडकले एक दुई घर होईन, विभिन्न वस्ती नै उच्च जोखिममा परेका छन ।
यी सडक खन्न अर्वौ बजेट सकिएको छ । सडकले निम्त्याएको विपत्तिबाट सम्पत्ति मात्र खर्वबढी क्षति पुगेको छ । पटक पटक सडकमा काम गर्दा पनि त्यसबाट पर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार उपयुक्त डिजाइनमा काम गर्ने कोसिसै भएन । ठेकदारको स्वार्थ अनुकुल डोजर चालकले जसरी चाहे, त्यसैगरी पहाडको भित्ता ताछ्ने छुट दिइयो । पटकपटक बाढीले बितण्डा मच्चाउँदा पनि यसको प्राविधिक पक्षमा ध्यान दिइएन ।
यो वर्षको मनुसुनको सुरु मै पाखापानी–कोटगाउँ सडकबाट झरेको भेलबाढीले पुरिएर रघुगंगा गाउँपालिका, ६ कोटगाउँमा दुई जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार आव ०७२/०७३ मा बाढीपहिरोबाट ३ जनामो मृत्यु ४ घाईते, ०७३/०७४ मा ४ जनाको मृत्यु, ३ घाईते, आव ०७४/०७५ मा बाढीपहिरोबाट कसैको ज्यान गएन । गत ०७६/०७७ मा बाढीपहिरोबाट म्याग्दीमा ३४ जनाको मृत्यु भएको छ, तीन जना वेपत्ता छन भने १३ जना घाईते भएका छन ।
जिल्ला प्रहरी कार्यालयले तयार पारेको ‘अब्यवस्थित सडक निर्माणबाट सिर्जित जोखिम मुल्याङ्क विश्लेषण प्रतिवेदन ०७७’ मा भनिएको छ, ‘सडक निर्माण गर्दा वातावरणीय प्रभाव मुल्याङ्कन नहुने, जैविक विविधतामा ख्याल नगरी मनलाग्दी स्काभेटर, जेसिवि प्रयोग बढेको, स्थानीयवासीको पूर्वसहमति वेगर पहुँचका भरमा सडक खन्ने गरिएको, सडक निर्माणपछि नाली बनाउने, भेल तर्काउने र संरक्षणका कुनै काम नहुने र नगरेपनि हुने’ अवस्था रहेको उल्लेख गरिएको छ ।
बिकाशले ल्याएको जोखिममा पर्ने बेनी–अर्थुङ्गे सडक त एउटा उदाहरण मात्र हो। इन्जिनियरिंग डिजाईन तयार गर्दा भौगोलिक जोखिमको अध्ययन नगरि निर्माण गर्दा, अनि क्षतिग्रस्त क्षेत्रको आवश्यक संरक्षण ‘ट्रिटमेन्ट’ पनि नहुादा जिल्लाका धेरै सडक पहिरोको जोखिममा छन् । स्पस्ट छ, कमजोर भौगर्भिक बनोटलाई पहिचान गर्न नसक्दा वा गरेपनि बेवास्ता गर्दा पछिल्लो समय, सडक पूर्वाधार विनाश र विपत्तिको कारक बन्न थालेको छ ।