FLASH NEWS
  • Loading...

एन- ९५ मास्क निकासी गर्ने, दुवईबाट अर्डर, अमेरिकाबाट इन्क्वायरी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७५ पटक पढिएको
एन- ९५ मास्क निकासी गर्ने, दुवईबाट अर्डर, अमेरिकाबाट इन्क्वायरी

शंकर समूहले एन-९५ मास्क निकासीका लागि उद्योग विभागमा आवेदन दिएको छ। समूह अन्तर्गतको जगदम्बा मास्क उद्योगबाट उत्पादित एन-९५ निकासीका लागि विभागमा आवेदन दिएको हो।

विभागका महानिर्देशक जीबलाल भुसालले मास्क निकासी गर्ने भन्दै विभागमा आवेदन आएको बताए। ‘जगदम्बा मास्कबाट निकासी सहजीकरणका लागि आवेदन आएको छ,’ उनले भने, ‘विभागले मास्कको तथ्यांक विश्लेषण गरेर निर्यातका लागि मार्गप्रशस्त गर्नेछ।’ अहिले मास्क निर्यातमा प्रतिवन्ध छ। त्यही भएर समूहले निकासी खोल्न आवेदन दिएको हो।

२० करोड लगानीमा रुपन्देही जिल्लाको सिद्धानगर नगरपालिका- ४ मा उद्योग स्थापना गरेको थियो। समूहका प्रवन्ध निर्देशक साहिल अग्रवालले खाडीबाट मास्कको माग आएको बताउँदै त्यसैले निकासीका लागि आवेदन दिएको बताए।

‘दुवईको एउटा ट्रेडिङ फर्मबाट एन-९५ मास्कको माग आएको छ। अमेरिकाबाट समेत सोधखोज भइरहेको छ,’ उनले भने, ‘यही मागका आधारमा हामीले निकासीको बाटो खोलिदिन सरकारसँग आग्रह गरेका हौं।’ उनका अनुसार विदेशमा २२ देखि २५ रुपैयाँ(२५ सेन्ट)मा मास्क निकासी गर्न सकिन्छ। ‘अहिले हामीले नेपालमा २२ रुपैयाँदेखि २५ रुपैयाँसम्म मास्क बिक्री गरिरहेका छौं। यही मूल्यमा विदेशमा निकासी गर्न सकिने सम्भावना छ,’ अग्रवालले भने, ‘महामारी घट्ने भन्दा पनि बढ्ने क्रममा रहेकोले मास्क निकासीको सम्भावना बढी छ।’

उनले फेब्रिक र डोरी आफै बनाएर मास्क निर्माण गर्ने भएकोले समेत प्रतिस्पर्धी मूल्यमा उत्पादन गर्न सकिएको बताए। ‘केही मेसिनबाट उत्पादन हुन्छ। केही हातबाट बनाउनुपर्ने भएकाले समेत विदेशमा प्रतिस्पर्धा गर्न सकिने अवस्था भएको हो’, अग्रवालले भने, ‘निकासी खोलेमा विश्वव्यापी रुपमै सम्भावना छ।’

यो उद्योगले केएन-९५, र एन-९५ करिब ३ करोड र सर्जिकल मास्क ५ करोड उत्पादन गर्नसक्ने क्षमता छ। कम्पनीले एन-९५ र केएन-९५ मास्कमा नेपाल गुणस्तर चिन्ह लिन गुणस्तर तथा नापतौल विभाग निवेदन दिएको छ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भारतको प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरीय रहेको पाइएको बताउँदै एक साताभित्र गुणस्तर चिन्ह पाउने जानकारी दिए। ‘हामीले दिल्लीको प्रयोगशालामा मास्क परीक्षणका लागि पठाएका थियौं। त्यहाँबाट गुणस्तर राम्रो रहेको रिर्पोट प्राप्त गरिसकेका छौं’, उनले भने, ‘पहिलो निषेधाज्ञा खोल्नेवित्तिकै उद्योगलाई एनएस चिन्ह दिन्छौं।’ विभागसँग मास्कको गुणस्तर परीक्षणका लागि आवश्यक प्रयोगशाला नभएकाले भारत पठाएको थियो।