- Loading...
उठ्यो बेलिब्रिज, खुल्यो सडक
- पुनहिल डट कम
- ४ साल अघि
- २१४ पटक पढिएको
असार २६ गते राहुघाट खोलाको कटानले ढलेको गलेश्वर स्थित बेलिब्रिज एक महिनापछि संञ्चालनमा आएसँगै बेनी–जोमसोम सडकको बेनी–दाना ३० किमी खण्डमा यातायात सूचारु भएको छ ।
बाढीले ढलाएको बेलिब्रिजलाई तलबाट ठूला मालबाहक ट्रक उठाउने जग राखेर थोरैथोरै उठाउँदै तलबाट ग्याभिनजालीको फाउण्डेसन बनाई हलुका सवारी साधन चल्न सक्नेगरी उठाईएको हो । ढलेको बेलिब्रिजलाई जमिन सतहदेखी ५ मिटर उठाएर ग्याभिन जालीमाथी आरसिसी बेरिङ प्याडमा टेकाई सवारी संञ्चालन गरिएको हो ।
कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार बेलिब्रिज संञ्चालनमा आएसँगै बेनीदेखी दानासम्म करिव ३० किमी सडक खण्डमा मिनी ट्रकसम्म चल्नसक्ने गरी सडक खुलेको छ । त्यसैगरी मुस्ताङ तर्फबाट माथी लेतेदेखी तल बाँदरजुँग भीरसम्म करिव ८ किमी सडकमा पनि ट्याक खुलेको छ ।
‘बाढीले ढलाएको बेलिब्रिजलाई जस्ताको त्यस्तै उठाएका छौं । आजदेखी पुलमा ट्याक्टर र साना गाडी संञ्चालन गरेका छौं । आरसिसि प्याड अझै सेटिङ हुन समय लाग्ने भएकोले ठुला गाढी चल्न कम्तीमा १२ दिन पर्खनु पर्छं’ योजना प्रमुख असोक तिवारीले भने, ‘आजदेखी मौषमले साथ दिएमा हलुका सवारीहरु अन्नपूर्ण गापा, ३ दानाको खामभित्तासम्मै चल्न सक्छन ।’
आयोजनाका अनुसार अन्नपूर्ण गाउँपालिका, ३ दानाको खामभित्ता–बाँदरजुँग भीरसम्म ५ किमी सडक खण्डमा रहेका काप्रेभीर, रुप्से, दाना, द्धारीखोला र खामभित्ताको पहिरो सडक ट्याक खोल्न बाँकी छ ।
सडकको सवैभन्दा जटिल भाग मानिएको काप्रेभीर/बाँदरजुँग भीरको करिव ४० मिटरसडकको फाउण्डेसन नै नरहेकोले पहाडमा विष्फोटन गराई ट्रयाक खोल्ने योजना छ । दानाको खामभित्तामा कालीगण्डकीले फाउण्ेसन बगाएको र माथीबाट निरन्तर लेदोसहित जमिन बग्ने गरेकोले ट्रयाक खोल्न समस्या छ । तलखामभित्ता र माथी काप्रेभीरमा ट्रयाक नखोली विचको दाना, द्धारीखोला र रुप्से छहरामा सडक मर्मत गर्न समस्या भएको हो ।
म्याग्दी र मुस्ताङ सीमावर्ती काप्रेभीर/बाँदरजुँगभीरमा दुई वटा पहिरो खसेको छ । एउटा माथीबाट झरेको पहिरोले वेस सहित सडक कालीगण्डकीमा खसालेको छ । अर्को कालीगण्डकी नदीले तलबाट वेस कटान गर्दा सडक भासिएर कालीगण्डकीमा मिसिएको छ ।
‘काप्रेभीरमा हिजो पनि सडक विस्तार गर्न समस्या नै थियो । अहिले झन वेससमेत पुरै सडक खसेकोले ४० मिटरबढी नयाँ ट्याक खोल्नु पर्ने भएको छ । त्यसकालागी ड्रिल मेसिन आउँदै छ । संभवत मंगलवारदेखी होल खोल्न सुरु हुन्छ’ आयोजना प्रमुख तिवारीले थपे, ‘दुई दिनमात्र घाम लाग्यो र खामभित्ताबाट डोजर छिराउन मात्र सकियो भने केही दिनमा दाना, रुप्से क्षेत्रका पहिरोमा ट्याक बनाउन सकिन्थ्यो । साउन मसान्तसम्म कम्तीमा रुप्सेसम्म साना गाडी पुर्याउन हामी लडिरहेका छौं ।’